नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मान, सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग जोडदार आग्रह गरेका छन्।

उद्घाटन मन्तव्यका क्रममा उनले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई देशको आर्थिक विकासमा योगदान पुर्‍याउने संघर्ष, संकल्प र सहकार्यको प्रतीक भएको बताए। उनले महासंघले सधैं निजी क्षेत्रको आवाज सशक्त बनाउँदै उद्योग, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

ढकालले पछिल्लो समय बनेको स्थायी सरकार र निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति (पीएसपीपी) कार्यान्वयनलाई सकारात्मक कदमको रूपमा लिँदै यसले व्यवसायीलाई नीतिगत तथा भौतिक सुरक्षा दिने विश्वास व्यक्त गरे।

उनले देशमा रोजगारी सिर्जना, आर्थिक आत्मनिर्भरता र उच्च ज्यालासहितको कामको अवसर विस्तार गर्न निजी क्षेत्रलाई थप सशक्त बनाउनु आवश्यक रहेको बताए। हाल ८६ प्रतिशत रोजगारी निजी क्षेत्रबाट सिर्जना भइरहेको उल्लेख गर्दै उनले अत्यधिक नियमनले लगानी वातावरणमा अवरोध सिर्जना गरेको गुनासो गरे।

अध्यक्ष ढकालले नेपालमा ठूलो सम्भावना हुँदाहुँदै पनि पर्याप्त आर्थिक प्रगति हुन नसकेको भन्दै दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताए। उनले कानुनी स्थायित्व, सुशासन, प्रविधिको प्रयोग र सदाचारलाई सुधारका मुख्य आधारका रूपमा अघि सार्दै ऊर्जा, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे।

उनका अनुसार महासंघले स्वदेशी पूँजी परिचालनका लागि १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना गरी ठूला आयोजना अघि बढाउने पहल समेत सुरु गरिसकेको छ। साथै, विदेशी लगानी भित्र्याउन विभिन्न देशमा बिजनेस समिट आयोजना गरिएको र नेपालप्रति लगानीकर्ताको चासो बढ्दो रहेको जानकारी दिए।

ढकालले युवाहरूको बढ्दो विदेश पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रलाई आर्थिक सुधारको नेतृत्व लिन आग्रह गरे।

उनले सकारात्मक सोच, सहकार्य र निरन्तर प्रयासमार्फत नेपाललाई समृद्धितर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गर्दै सबै उद्योगी–व्यवसायीलाई सक्रिय भूमिका खेल्न आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय