काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँका सुकुम्बासी बस्तीहरूमा सरकारले चलाएको डोजरलाई लिएर कडा आपत्ति जनाउँदै यसलाई ‘सस्तो लोकप्रियताको निर्मम प्रहार’ भन्नुभएको छ। सामाजिक सञ्जालमा कडा टिप्पणी लेख्दै उहाँले सरकारलाई विधिको शासनभित्र रहन चेतावनी दिनुभएको हो।
सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै थापाले लेख्नुभएको छ, “हो, कानुनको बाटो अलि धैर्यतापूर्ण हुन्छ, अलि प्रक्रियागत हुन्छ। यसले क्षणिक ‘ताली’ र ‘लाइक्स’ नदेला। तर, के राज्य सधैँ तालीको पछि मात्र लाग्ने हो? मानवीय संवेदना र आत्मसम्मानलाई कुल्चिएर नागरिकलाई ‘कैदीबन्दी’ जस्तो व्यवहार गर्नु के राज्यको अभिभावकीय भूमिका हो?” उहाँले वाग्मती र मनोहरा जस्ता नदी किनारका वास्तविक सुकुम्बासीलाई विकल्प र पुनर्स्थापनाको आधार नबनाई लखेट्ने काम तत्काल बन्द गर्न माग गर्नुभएको छ। सुकुम्बासीको आवरणमा राज्य ठग्ने नक्कलीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै थापाले अगाडि भन्नुभएको छ, “याद राखौँ—राज्यको सामर्थ्य डोजरको दाँतमा होइन, कानुनको न्यायपूर्ण कार्यान्वयनमा देखिनुपर्छ।”





