काठमाडौं: सभामुख डीपी अर्यालले संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
मंगलबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को टोलीसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटघाटमा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।

एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा गएको टोलीले सभामुख अर्याललाई कार्यभार सम्हालेकोमा बधाई दिँदै संसद् परिसरमा फोटो खिच्ने क्रममा हुने अवरोध र भौतिक असुविधाबारे जानकारी गराएका थिए।
जवाफमा सभामुख अर्यालले हाल संसद् सञ्चालन भइरहेको स्थान अस्थायी भएकाले केही प्राविधिक समस्या देखिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “नयाँ संसद् भवन सञ्चालनका लागि तयारी तीव्र पारिएको छ।
नयाँ भवनमा सरेपछि फोटो पत्रकारका लागि आवश्यक सहजीकरण र कार्यसुविधा सुनिश्चित हुनेछ।” उहाँले फोटो पत्रकारहरूको व्यावसायिक हकहितका लागि आफ्नो तर्फबाट सदैव सकारात्मक सहयोग रहने समेत उल्लेख गर्नुभयो।




