काठमाडौँ । माननीय गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत पार्क ताय योङबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई आधुनिक साधन-स्रोत सम्पन्न बनाउन र भीड नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री एवम् उपकरण व्यवस्थापनमा सहकार्य गर्न प्रस्ताव गर्नुभयो ।

कोरियाली सहयोगमा निर्माण भइरहेको साइबर ब्यूरोको भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेकोमा धन्यवाद ज्ञापन गर्दै मन्त्रीले नेपालमा कोरियाली लगानीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको र लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा साझेदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।
सो अवसरमा राजदूत पार्कले नेपालीहरूको अनुशासन र मेहनतको प्रशंसा गर्दै कोरियामा रहेका नेपालीको हित र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन कोरिया सरकार सकारात्मक रहेको बताउनुभयो ।



