काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टोलीहरूले विदेशी खेलाडी अनुबन्धलाई तीव्र बनाएका छन्। यसै क्रममा कर्णाली याक्सले पाकिस्तानका टी-२० टोलीका कप्तान तथा आक्रामक ब्याटर साहिबजादा फरहानलाई टोलीमा भित्र्याएको छ। ३० वर्षीय दायाँहाते ओपनिङ ब्याटर फरहान कर्णाली याक्सको ब्याटिङ सम्हाल्न राजधानी काठमाडौँ आइपुगेका छन्।

यस्तो छ फरहानको खेल तथ्याङ्क

अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। टी-२० अन्तर्राष्ट्रियमा १३९.४९ को स्ट्राइक रेटमा रन बनाएका उनले २ शतक र १३ अर्धशतकसहित कुल १ हजार ५५४ रन जोडेका छन्।

त्यस्तै, समग्र टी-२० करिअरमा १८६ खेल खेलेका फरहानले ९ शतक र ३८ अर्धशतकको मद्दतमा ५ हजार ७७५ रन बनाएका छन्, जसमा उनको व्यक्तिगत उच्च स्कोर अविजित १६२ रन रहेको छ।

घरेलु क्रिकेटमा पनि दरिलो उपस्थिति जनाएका उनले प्रथम श्रेणी (First-Class) का ६३ खेलमा ४ हजार ७९६ रन र लिस्ट ‘ए’ (List A) का ८१ खेलमा ३ हजार १६५ रन बनाएका छन्।

कर्णाली याक्समा विदेशी खेलाडीको बाहुल्य

कर्णाली याक्सले यसअघि नै पाकिस्तानका अलराउन्डर हुसेन तलतका साथै बंगलादेशका अक्बर अली र अरिफुल इस्लामलाई टोलीमा अनुबन्ध गरिसकेको छ। फरहानको आगमनले कर्णालीको शीर्ष क्रमको ब्याटिङ थप मजबुत हुने अपेक्षा गरिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय