काठमाडौं । एक महिलासँगको विवादास्पद अडियो सार्वजनिक भएपछि सत्तारुढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) विरुद्ध अत्यन्तै आक्रामक गम्भीर लगाएका छन्। संसद्को सार्वजनिक लेखा समितिमा प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध निर्मम प्रश्न उठाएका कारण आफूविरुद्ध सुनियोजित ढङ्गले उक्त अडियो प्रकरण निकालिएको र प्रहरी प्रशासनले आफ्नो बदमासी लुकाउन राज्यसंयन्त्रको दुरुपयोग गरेको उनको दाबी छ।
एक महिलासँग जोडिएको अडियो सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा छताछुल्ल भएपछि सांसद सुनारले आपत्ति जनाएका छन्। लेखा समितिमा प्रहरीको भ्रष्टाचारबारे बोलेकै कारण हेडक्वार्टरदेखि सीआईबीसम्मका अधिकारीहरूले आफ्ना नजिकका मान्छे, इष्टमित्र र आफन्तहरूलाई दबाब दिएर जबरजस्ती मुद्दा हाल्न लगाएको र नमाने विभिन्न प्रलोभन तथा धम्की दिएको उनले बताएका छन्।

सांसद सुनारले आफूसँग जोडिएको भनिएको त्यो अडियो सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। प्रहरी प्रमुख र सीआईबीको प्रत्यक्ष संलग्नतामा प्रविधि, कृत्रिम बौद्धिकता (एआई) तथा क्यारिकेचरको समेत दुरुपयोग गरेर आफूलाई नैतिक पतन देखाउने र आपराधिक चरित्रको रूपमा उभ्याउने प्रपञ्च रचिएको उनको गुनासो छ। “कानूनको पालना गर्ने राज्यमा बर्दी, बन्दूक र हथकडीको दुरुपयोग गरेरदुरुपयोग गरेर यसरी कसैको पनि खेदो खन्न पाइन्छ कि पाइँदैन?” भन्दै उनले प्रश्न गरेका छन्। आफूले कुनै पनि किसिमको अपराध गरेको भए जुनसुकै सजाय र हथकडी भोग्न तयार रहेको तर राज्यको शक्ति प्रयोग गरी षड्यन्त्रपूर्वक फसाउन खोजिएको यो प्रवृत्तिविरुद्ध आम जनताको कटघरामा उभिन तयार रहेको उनले बताएका छन्।
देशमा बलियो दुईतिहाइको सरकार हुँदा र स्वयम् आफ्नै दलको नेतृत्वमा सरकार सञ्चालन भइरहेको बेला आफ्नै पार्टीका सांसदले यति ठूलो गम्भीर आरोप लगाउँदा पनि गृहमन्त्री सुधन गुरुङ र सरकार किन मौन छ भन्ने गम्भीर प्रश्न उठेको छ।
खगेन्द्र सुनारले व्यक्त गर्नुभएको कुरा जस्ताको त्यस्तै पढ्नुहोस्।
नमस्कार
केही दिनदेखि सामाजिक सञ्जालहरूमा, नेपालका मिडियाहरूमा मेरा विभिन्न आरोप-प्रत्यारोपहरू, म माथिका विभिन्न आरोप-प्रत्यारोपहरू आइरहेको छ। कहिले घुस खायो भनेर, कहिले भ्रष्टाचार गर्यो भनेर, कहिले यो भन्यो भनेर, कहिले त्यो भन्यो भनेर विभिन्न खालका आरोप-प्रत्यारोपहरू आइरहेको छ। यही मध्ये हिजोबाट फेरि एउटा मेरो हो भनेर एउटा अडियो सार्वजनिक गरिएको छ, त्यसलाई छताछुल्ल पारिएको छ।
मैले संसद्को सार्वजनिक लेखा समितिमा प्रहरीभित्र भएको बदमासीको एउटा निर्मम प्रश्न गरेको थिएँ, प्रहरीभित्रको भ्रष्टाचारको निर्मम प्रश्न गर्दै गर्दा आज मैले यो नियति बोकेको छु। मैले प्रत्येक मिनेट जस्तो, प्रत्येक सेकेन्ड जस्तो, प्रत्येक दिन जस्तो कुनै न कुनै आरोपको, कुनै न कुनै टिप्पणीको, टीकाटिप्पणीको म सिकार भएको छु। हिजो कुनै एउटा काल्पनिक मान्छेको परिकल्पना गरेर, कुनै एउटा महिलालाई जोडेर उसको पनि चरित्र हत्या हुने गरी, कुनै काल्पनिक मान्छेको चरित्र हत्या हुने गरी, यस्तै स्वर सुनिनै गरी, यहीको हो भनेर घिसारेर, घिसारेर ल्याएर जसरी ठोक्काउने काम भएको छ, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
मैले प्रश्न गरे बापत प्रहरीको भित्रको बदमासीको प्रश्न गरेदेखि नै नेपाल प्रहरीको हेडक्वार्टरदेखि सीआईबीसम्मले म वरिपरि भएका साथी, संगी, इष्टमित्र, आफन्त, सबै खालका मान्छेलाई यसका विरुद्धमा भएका प्रमाणहरूले, यसका विरुद्धमा भएका, यसको विरुद्धमा कसले बोल्न सक्छ? यसलाई कसले मुद्दा हाल्न सक्छ? यसको विरुद्धमा क कसले के के गर्न सक्छ? भनेर विभिन्न अफरहरू दिएको थियो। यो बिचमा धेरै मान्छेलाई बोलाएर उनीहरूले मुद्दा हाल्न उक्साएका थिए, मुद्दा हालेपछि पैसा दिने, सम्मान दिने, यसो गर्ने, तेसो गर्ने, उनीहरूले सबै गर्छौ भनेका थिए।
तर कोही कसैले पनि मुद्दा नहालेपछि, केही भएन, एउटा बदमासी भएन गर्ने हो, केही कसैले केही नभएपछि अहिले उनीहरूले मिडिया प्रयोग गरेर विभिन्न ठाउँबाट चरित्र हत्याको कामहरू भइरहेको छ। विभिन्न ठाउँबाट मान्छेहरूलाई यसो, तेसो भनेर आरोप-प्रत्यारोप, एकोहोरो आक्रमण भइरहेको छ, छताछुल्ल हानिएको छ।
एउटा जनताबाट निर्वाचित जनप्रतिनिधिलाई त, प्रश्न प्रहरीले गर्ने व्यवहार यस्तो खालको हुन्छ, एउटा प्रहरी, एउटा जनप्रतिनिधिलाई फसाउन यतिसम्मको दिग्भ्रम गर्न पछि पर्दैन भने आम मानिसको हालत के होला? आज यो निर्मम भएर सोच्नुपर्नेछ। तर यो भन्दै गर्दा म प्रश्नबाट भाग्नुपर्छ भन्ने हो? म माथि उठेका कुनै पनि प्रश्नबाट म पर जानुपर्छ भन्ने हो? त्यो होइन। पार्टीले, संसद्ले, सरकारले, राज्यले म माथि सबै खालको छानबिन गर्नुहोस्, म संग जोडिएका प्रत्येक मान्छेको छानबिन गर्नुहोस्, चाहे मेरो सम्बन्धका कुरा, लिनका कुरा, दिनका कुरा, झैझगडाका कुरा, मेलमिलापका कुरा, जे जे गर्नु पर्छ गर्नुस्, तर मेरो यति मात्रै भन्नु छ, प्रश्न अझै गम्भीर हुन्छ, प्रश्न अझै बलियो हुन्छ।
तर नियोजित ढंगबाट मान्छे खडा गरेर, अहिले मैले सुनिरहेको छु, प्रहरीले पैसा दिएर कसैलाई मुद्दा हाल्न पठाइरहेको छ, कसैलाई माइतीघर मण्डलामा धर्ना दिन भनेको छ, कसैलाई यसका विरुद्धमा लेख भनेको छ, कसैलाई बोल भनेको छ, मलाई कुनै आपत्ति छैन। तर आफ्नो बदमासी लुकाउन जुन खालको दिग्भ्रम गरिएको छ, यो प्रति भने म आम जनताको बिचमा अपिल गर्न चाहन्छु, म जनताको बिचमा उठेका प्रत्येक प्रश्नको म जवाफ दिन तयार छु, म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु। म राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु।
मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु, संसद्बाट निलम्बित हुनुपर्छ भने म तयार छु। तर एउटा प्रहरी जस्तो संगठनभित्र भएको बदमासीका विरुद्धमा कसैले आवाज उठाउँदै गर्दा जुन खालको घेराबन्दी भएको छ, यो बारेमा स्पष्ट बुझ्न जरुरी छ। कसै माथि अन्याय भएको छ भने कसैले जाला, राज्यले खोजीननी गर्नुपर्ला, त्यो राज्यको दायित्व भित्रको कुरा हो, त्यो व्यक्तिको अधिकार भित्रको कुरा हो। तर एउटा महिलालाई जसरी जोडेर, यही महिला हो भनेर जसको काल्पनिक ढंगबाट कसैको फोटो ल्याएर यता जोर्दिएछ, कसैको हात ल्याएर यता जोर्दिएछ, कसैलाई घिसारेर ल्याएर मुद्दा हाल् हाल भन्या छ, तैंले मुद्दा हालेनास भने पक् तलाई यसो गर्छु भनेर विभिन्न खालका मसँग जोडिएका केटा साथी, केटी साथी, विभिन्न खालका मान्छेहरूलाई ल्याएर टर्चर दिएको छ। घरमा फोन गरेर मुद्दा हाल्न भनिएको छ, साथीलाई फोन गरेर यसलाई खायो भन भनेको छ, अर्कोलाई फोन गरेर यसले समात्यो भन भनेको छ, विभिन्न खालका दिग्भ्रमहरू गरिएको छ।
त्यो मध्येको आज म यसको सिकार भएको छु, तर म साथी खुलेर, म निर्धक्कका साथ आज पनि म यो कठघरामा उभिएर म भन्न तयार छु, म भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने, म अहिले यहीँ दाङबाट हथकडी लगाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन। तर जुन खालको प्रेसर क्रिएट गरिएको छ, जुन खालको गरिएको छ, जुन खालको कपोलकल्पित आरोपहरू सिर्जना गरिएको छ, प्रहरीले आफैँ मान्छे पठाएर समितिमा उजुरी हाल्ने देखि जहाँ जहाँ, जिन जिन ढंगबाट बदनाम गराउने र आफूलाई बचाउने काम चाहिँ जसरी भएको छ, म सकछु, मलाई कुनै आपत्ति छैन।
म आजैबाट केन्द्रीय समिति छोड्दिन्छु मलाई कुनै आपत्ति छैन, म संसद् छोडेर बाहिर निस्कन तयार छु मलाई कुनै आपत्ति छैन। तर प्रश्न अझै बलियो भएर आउनेछ, मलाई फसाइयोस्, मृत्युदण्ड होस्, आजीवन कारावास होस्, मलाई कुनै आपत्ति छैन, मारियोस्, बिचमै ठोकियोस् मलाई कुनै आपत्ति छैन, तर प्रश्न बलियो हुन्छ। यो सबैको कारण के हो? मैले प्रश्न गरेको, कसको प्रश्न गरेको? एउटा गरिबका छोराछोरीको जुत्ता, मोझा माथि भएको बदमासी, त्यो माथि भएको भ्रष्टाचारमा के भएको थियो? भनेर निर्मम ढङ्गले बोल्दै गर्दा, आज निर्मम पीडा मैले जे खोपेको छु, म तयार छु फेरि, म हाँसी-हाँसी यो पीडा म फेस गर्न तयार छु।
तर जसरी पनि म संग जोडिएका, नजिक भएका, सािनु सम्बन्धमा रहेका साथीभाइलाई घिसारेर, ल्याएर, ठोक्काएर, पहिला मुद्दा हाल्न नलगाउने, नमानिसकेपछि उनीहरूले केही होइन, केही छैन भनिसकेपछि मिडियाबाट त्यो पनि बदनाम गर्छु भन्ने, मुद्दा हालेनास भने तलाई पनि मुद्दा उल्टो मुद्दा लाउँछु भन्ने, विभिन्न खालका टीकाटिप्पणीहरू भएको छ। अहिलेसम्म सामाजिक सञ्जालमा जे अडियो भिडियो भनेर जे आएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन, त्यो पात्र म होइन, हामीले बोलेका छैनौँ, केही गरेका पनि छैनौँ, तर जसरी पनि अहिले बजारमा यसकै हो भनेर, चाहे प्रविधिको, चाहे एआईको, चाहे कसैलाई बोल्न लगाएर, चाहे क्यारिकेचर गर्न लगाएर, जसरी पनि फसाउने प्रपञ्चहरू गरिएको छ, यी सबै कुराको म जनताको प्रश्नको कठघरामा उभिन म तयार छु।
तर यति मात्रै होइन, कानुनी राज्यमा बर्दी र बन्दूक र हथकडीको दुरुपयोग गरेर यसरी कसैलाई पनि खेद खन्न पाइन्छ पाइँदैन? आम जनताले बुझ्ने कुरा हो, म माथि छानबिन होस्, निर्मम छानबिन होस्, म माथि पार्टीले आफ्नो साथीको, पार्टीको भनिरहन सरकारले म माथि कुनै दया देखाउनु पर्दैन, मलाई दयाको भिक्ष चाहिएको भी पनि छैन, म माथि निष्पक्ष छानबिन होस्, अपराध र बदमासी गरेको सन्दर्भमा म कानुनले दिएको सबै कुराहरू भोग्न, सुन्न, सुनाउन म तयार छु।
तर अन्यथा यो खालको चरित्रहत्याबाट आम मानिसलाई, एउटा तलबाट आएको एउटा मानिसलाई बाँच्ने अवसर चाहिँ यो राज्यले सिर्जना गर्नुपर्छ। धन्यवाद, नमस्कार।



