काठमाडौँ। बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप ह्वात्तै बढेको छ। दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्किन थालेसँगै काठमाडौँका मुख्य नाकाहरूमा यात्रुको बाक्लो चहलपहल देखिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २४ घण्टाको अवधिमा विभिन्न नाका हुँदै कुल ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सबैभन्दा बढी नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रु बाहिरिएका छन्। यस्तै फर्पिङबाट ५ हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना यात्रु बाहिरिएका छन्।

यात्रुको सङ्ख्या बढे पनि बिग्रिएका सडकका कारण सवारीसाधन व्यवस्थापनमा सकस भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले राष्ट्रिय राजमार्गहरूको दुरावस्थाका कारण सवारीसाधन समयमा गन्तव्यमा पुग्न र काठमाडौँ फर्कन नसक्दा समस्या थपिएको बताउनुभयो।

असोज २३ गते अग्रिम टिकट बुकिङ खुलाएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिनुपरेको र त्यसको असर अझै परिरहेको महासचिव गौतमको भनाइ छ।

चाडपर्वका बेला हुन सक्ने ठगी र सास्तीबाट बच्न महासङ्घले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको आधिकारिक भाडा दर मात्र तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय