काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपहरू गम्भीर रहेको उल्लेख गर्दै रास्वपाले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

पार्टीले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ। साथै, कानुनभन्दा माथि कोही पनि नहुने स्पष्ट पार्दै अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानअनुसार थप कदम चालिने जनाएको छ।



