काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिल कुमार शर्माले निर्वाचनमा पराजित भए पनि पार्टी रूपान्तरण र जनसेवाप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर रहने बताएका छन्।
महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै शर्माले आफूलाई विश्वास गरेर अमूल्य मत दिने देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।

आफ्नो उम्मेदवारी पद प्राप्तिको आकांक्षा मात्र नभई नेपाली कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्प भएको उनले बताएका छन्। बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ।
निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको उल्लेख गर्दै शर्माले पदमा रहे पनि नरहे पनि आम नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो अभियानमा साथ दिने अग्रज, सहयात्री, शुभेच्छुक तथा सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिँदै कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार निर्माणका लागि निरन्तर काम गर्ने बताएका छन्।



