काठमाडौं, गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायका कर्मचारी तथा अधिकारीहरूलाई संवेदनशील र गोपनिय सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिप्रति कडा चेतावनी दिनुभएको छ। लामो समयदेखि यस्ता गतिविधि नियाँलिरहेको बताउँदै उहाँले राज्यको संवेदनशीलतामाथि खेलबाड गर्ने जोसुकैलाई पनि कानुनको कठघरामा ल्याइने स्पष्ट पार्नुभएको छ।
गृह प्रशासनभित्रको अति गोप्य र संवेदनशील सूचना अनाधिकृत रूपमा चुहाएको गम्भीर आरोपमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि गृहमन्त्री सुधन गुरुङले कडा फेसबुक स्टाटस लेख्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको प्रस्ट्याउनुभएको छ। पदीय हैसियतले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने छुट कसैलाई नभएको उहाँको भनाइ छ। मन्त्रालय मातहत प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यका गम्भीर घटनाहरूको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने भएकाले यसबारे गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
राज्यले सुम्पिएको गोपनियतामाथि जानाजान प्रहार गर्दै आफ्नै देश र संगठनमाथि घात गर्ने प्रवृत्ति अब सैह्य नहुने चेतावनी दिँदै गृहमन्त्री गुरुङले भन्नुभएको छ, “राज्यले सुम्पिएको गोपनियतामाथि जानाजान आफ्नो देश रसंगठनमाथि विश्वासघात गर्ने जुनसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ।” गृहमन्त्रीको यो आक्रामक र कडा चेतावनीसँगै प्रशासनिक वृत्तमा हलचल मच्चिएको छ।



