नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।
पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको आगामी वैचारिक दिशा तय गर्नुका साथै नयाँ कार्यसमिति चयन गर्नेछ। उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित भारत, चीन, अमेरिका लगायत विभिन्न देशका राजनीतिक प्रतिनिधि तथा कूटनीतिज्ञलाई आमन्त्रण गरिएको छ।

असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने १९ गते नै नेतृत्वका लागि उम्मेदवारी दर्ता हुनेछ। असोज २१ र २२ गते मतदान गर्ने कार्यतालिका छ। मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्र तोकिएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका सवारीसाधनका लागि धरहरा अन्डरग्राउन्ड, माइतीघर–भद्रकाली सडक, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरलगायत स्थानमा पार्किङको व्यवस्था गरिएको छ।



