काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री शाहले सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेकाले आफ्नो विज्ञतालाई देश विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

प्रधानमन्त्री शाहले पार्टी राजनीतिसँगै सांसदहरूले आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो।

छलफलका क्रममा प्राविधिक विज्ञता भएका सांसदहरूको ज्ञान र अनुभवलाई दीर्घकालीन नीति निर्माण तथा विकासका काममा प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा समेत चर्चा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय