बिहान करिब साढे ८ बजेपछि नेपाल–चीन सीमाबाट आएको ‘हिम सुनामी’ भोटेकोशी हुँदै त्रिशुलीतीर अघि बढ्यो । त्यो भेलमा पानी मात्रै थिएन ।त्यसमा थियो- बरफ, चट्टान, माटो, बालुवा र पहाडको ठूलो हिस्सा । र यही कारण भोटेकोशीको बाढीले सामान्य बाढीको परिभाषा नै बदलिदियो ।
भोटेकोशीको विनाश बुझ्न नदीबाट होइन, नदीभन्दा करिब १ हजार २०० मिटर माथिको पहाडबाट सुरु गर्नुपर्छ । वैज्ञानिक अध्ययनअनुसार रसुवाको लाङटाङ लिरुङ क्षेत्रको उत्तरी भित्तामा ठूलो चट्टानी भाग खस्यो । त्यससँगै हिम र बरफ पनि खस्यो । चट्टान, बरफ र पानी मिसिएर बनेको त्यो अत्यन्त तीव्र बहाव ल्हेन्दे खोलातर्फ झर्यो । त्यहाँबाट भोटेकोशी हुँदै त्रिशूलीको खोँचमा प्रवेश गर्यो ।

इसिमोडका अनुसार लाङटाङ लिरुङको करिब ५,१५० मिटर उचाइको क्षेत्रमा भएको हिम-चट्टानले केही मिनेटमै विनाशकारी परिस्थिति सिर्जना गर्यो । अर्थात्, हामीले तल बाढी देख्यौँ । तर यसको सुरुआत माथि पहाडमा भएको भू-भौतिकीय घटनाबाट भएको थियो ।

र यहीँबाट यो घटनाको पहिलो प्रश्न सुरु हुन्छ – के यो केवल प्राकृतिक घटना थियो ?
वैज्ञानिकहरूको प्रारम्भिक विश्लेषणले यसको उत्तर त्यति सरल भने छैन । वर्ल्ड वेदर एट्रिब्युसनको पछिल्लो अध्ययनले हिमालयको तीव्र तापक्रम वृद्धि, हिमनदीको क्षय र जमेको भूभाग पग्लिँदै जानुले पहाडको स्थिरता कमजोर बनाएको हुनसक्ने देखाएको छ । अर्थात् जलवायु परिवर्तनले सिधैं बाढी आयो भन्ने निष्कर्षमा पुग्नु अधुरो हुन्छ । तर यस्ता चरम भू–भौतिक घटना हुने वातावरणलाई थप अस्थिर बनाइरहेको हुनसक्ने वैज्ञानिक निष्कर्ष छ ।
अर्को प्रश्न छ – यो बाढी किन यति विनाशकारी भयो ?
बाढीको विनाश केवल पानीको मात्रा भएर हुँदैन । पानी कति छ ? कुन गतिमा छ ? त्यसले कति ढुंगा र माटो बोकेको छ ? र नदीको बाटो कति साँघुरो छ ? यी सबै कुराले यसको शक्ति निर्धारण गर्छ । भोटेकोशीमा भने यी सबै जोखिम एकैपटक जोडिए । वर्ल्ड वेदर एट्रिव्युसनले गरेको प्रारम्भिक विश्लेषणमा पानीको बहावको औसत गति करिब १८८ किलोमिटर प्रतिघण्टासम्म पुगेको उल्लेख गरेको छ । यसको अर्थ- धेरै मानिसले बाढी देखेर सुरक्षित हुनुभन्दा अघि नै बाढी उनीहरूभन्दा धेरै अगाडि पुगिसकेको थियो । त्यसैले भोटेकोशीको कथा ‘बाढी आयो र घर बगायो’ भन्ने मात्रै होइन । यो केही मिनेटमै भूगोल बदलिएको कथा हो ।

भोटेकोशीको किनार केवल नदीको किनार थिएन । यहाँ बस्ती थियो । बस्तीमा हजारौं भविष्यहरु खेलिरहेका थिए, लाखौं सुन्दर सपनाहरु बुनिँदै थिए । व्यापार थियो । पर्यटन थियो । जलविद्युत् थियो । सीमा जोड्ने सडक थियो । र यही कारण एउटा प्राकृतिक विपत्ति एकैपटक सिंगो आर्थिक प्रणालीको जगलाई नै हल्लाइदियो । रसुवागढी नाका चीनसँगको व्यापारका लागि महत्वपूर्ण प्रवेशद्वार हो । बाढीले भन्सार क्षेत्र, कन्टेनर, सडक र पुलमा क्षति पुर्यायो । यसको असर रसुवामा मात्र रोकिएन । चाडपर्वको व्यापारका लागि चीनबाट ल्याइएका कपडा, जुत्ता, विद्युतीय सामग्री, लसुन, प्याज, अदुवा र फलफूललगायत दैनिक उपभोग्य सामानको आपूर्ति नै ठप्प पारिदियो ।
अर्थात्, भोटेकोशीको भेलको असर काठमाडौँको बजारसम्म पुग्यो । नदीले पुलहरुं बगायो । त्यसले अर्को ठाउँमा आपूर्ति शृंखला भत्कायो । यसले हाम्रो आर्थिक प्रणालीलाई वर्षौंसम्म धक्का दिइरहने छ ।

जीवन फर्किने आशा
भोटेकोशी–त्रिशूली करिडोरमा नदीको पानी केवल बाढीको स्रोत थिएन । त्यही नदी नेपालको विद्युत् उत्पादनको स्रोत पनि थियो । बाढीले यही संरचनालाई पनि निशाना बनायो । सरकारको प्रारम्भिक मूल्यांकनअनुसार १३ वटा जलविद्युत् आयोजना प्रभावित भए । कुल ७८३ मेगावाट बराबरको उत्पादन क्षमता प्रभावित भएको प्रारम्भिक अनुमान छ । सडक, पुल, प्रसारण लाइन, उत्पादनगृह र अन्य संरचना समेत जोड्दा ऊर्जा क्षेत्रको पुनर्निर्माणमा मात्रै सयौँ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । तर यहाँ एउटा अर्को मानवीय पक्ष छ । यी आयोजना केवल कंक्रिटका संरचना मात्र थिएनन् । त्यहाँ सयौं जीवनहरु थिए । उनीहरुमा आश्रित हजारौं आफन्त र प्रियजनका सपना र भविष्य थिए । र बाढी आएको समयमा कतिपय मानिस सुरुङभित्रै थिए । त्यसैले भोटेकोशीको सबैभन्दा कठिन नदीमा होइन, सुरुङभित्रका जीवनको उद्धार थियो । त्यही सुरुङ धेरैका लागि जिन्दगी र मृत्युबीचको अन्तिम ठाउँ बन्यो । उद्धार टोलीले कतिपय सुरुङमा पानी, माटो र ढुंगाको अवरोध हटाउँदै भित्रसम्म पुग्ने बाटो बनाउनुपर्यो । कम्प्रेसरमार्फत अक्सिजन पठाइयो । ड्रोन प्रयोग गरियो । ठूला पाइपबाट हिँड्न मिल्ने बाटो बनाइयो । भत्किएको सडकबाट भारी उपकरण लैजान ठूला ढुंगा विस्फोट गरेर हटाइयो । उपर त्रिशुली-ए को सुरुङमा काम गर्ने सञ्जय साहको नौ दिनपछि उद्धार हुँदा बल्ल एउटा आशा पलायो । धमिलो पानी पिएर उनले जीवन धाने । उनीजस्तै केही व्यक्तिको जीवित उद्धारले सुरुङभित्र खोजी रोक्न नहुने निष्कर्षमा पुर्यायो । तर त्यही सुरुङबाट धेरै परिवारका लागि खुसी होइन, शव भेटिएको खबर आयो ।

हालसम्म चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट ४ शव र उपर-त्रिशुली-ए बाट पाँच शव निकालिएको थियो । कतिपय शव पहिचान गर्नसमेत कठिन अवस्थामा भेटिएका छन् ।
प्राकृतिक विपत्तिपछि एउटा प्रश्न हुन्छ- कति मानिस मरे ? तर भोटेकोशीले विपत्तिले अर्को प्रश्न तेस्र्याएको छ – कति मानिस कहाँ छन् ?
पछिल्लो सरकारी तथ्यांकअनुसार १ हजार ४०३ जनाको मृत्यु पुष्टि भइसकेको छ । तर ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् । र यहाँ एउटा अर्को संघर्ष चलिरहेको छ । पहिचान । शव भेटिनु मात्र पर्याप्त छैन । शव कसको हो भनेर पहिचान गर्नुपर्छ । त्यसका लागि डिएनए नमुना लिनुपर्छ । परिवारका सदस्यबाट पनि नमुना लिनुपर्छ । सरकारी विवरणअनुसार हजारौँ डीएनए नमुना संकलन गरिएको छ । तर पहिचान भएका शवको संख्या त्यसको तुलनामा निकै कम छ । यसको अर्थ- विपत्ति आएको करिब चार हप्तापछि पनि
धेरै परिवार र प्रियजनहरुले सास वा लास पर्खिरहेका छन् । किनकि उनीहरूलाई थाहा छैन- आफ्नो मान्छे कहाँ छ ?

पर्यटनमा क्षति
रसुवा नेपालको पर्यटनका लागि केवल एउटा जिल्ला होइन । लाङटाङ । गोसाĩकुण्ड । तामाङ हेरिटेज ट्रेल । स्याफ्रुबेँसी । टिमुरे । रसुवागढी र मानसरोवर जाने प्रमुख प्रवेशद्वार पनि हो रसुवा नाका । यी सबै पर्यटन, तीर्थयात्रा र सीमापार आवागमनसँग जोडिएका नाम हुन् । तर विपत्तिपछि पर्यटनको समस्या केवल ‘गन्तव्यमा क्षति भयो’ भन्ने रहेन । मुख्य समस्या त्यहाँसम्मको पहुँच हो । सडक छैन भने पर्यटक पुग्दैन । पुल छैन भने सामान पुग्दैन । सञ्चार छैन भने सूचना पुग्दैन । र सूचना छैन भने सुरक्षित गन्तव्य र असुरक्षित क्षेत्रबीचको फरकसमेत विश्व बजारले बुझ्न सक्दैन । यसैले भोटेकोशीको पर्यटन प्रभाव रसुवाको सीमाभन्दा धेरै परसम्म जान्छ । नेपालको पर्यटन पुनःविश्वास निर्माणको प्रश्न पनि यहीँ जोडिन्छ ।
के हामीलाई यस्तो जोखिमको संकेत पहिले नै थाहा थियो ?
यो सबैभन्दा सबैभन्दा कठिन प्रश्न हो । के यस्तो घटना पहिल्यै थाहा पाउन सकिन्थ्यो ? यसको उत्तर अहिले नै ‘हो’ वा ‘होइन’ भनेर दिनु वैज्ञानिक रूपमा उचित हुँदैन । किनकि यस्तो ठूलो हिम सुनामी नेपालले पहिले कहिल्यै व्यहोरेको थिएन । तर वैज्ञानिकहरूले अर्को कुरा स्पष्ट गरिरहेका छन् । हिमालय परिवर्तन भइरहेको छ । हिमनदी पग्लिने क्रम तीव्र हुँदैछ । जमेको भू–भाग पग्लिँदै छ । पहाडको ढलानमा पहिले बरफले समातेका चट्टानहरू क्रमशः खुकुलो हुँदै छन् । वर्ल्ड वेदर एट्रिव्युसनले गरेको अध्ययन अनुसार जुलाई र अगस्टमा क्षेत्रीय तापक्रम असामान्य रूपमा उच्च रहेको र दीर्घकालीन तापमान वृद्धिले जोखिम बढाएको विश्लेषण गरेको छ । त्यसैले अब प्रश्न – ‘बाढी आउँछ कि आउँदैन?’ भन्ने मात्र होइन । प्रश्न हो- कुन पहाड अस्थिर हुँदैछ ? कुन हिमनदी बदलिँदैछ ? कुन नदीमा जोखिम बढ्दैछ ? र हामीसँग त्यसलाई थाहा पाउने प्रणाली कति बलियो छ ?
भोटेकोशीले नेपालको जोखिम भएका क्षेत्रको पहिचान गर्ने, विपद् सूचना प्रणालीलाई बलियो बनाउने र क्षति कम गर्ने रणनीति ल्याउन ढिलाइ गर्नु हुँदैन ।

पुनर्निमार्ण कसरी ?
सरकारको प्रारम्भिक मूल्यांकनले भोटेकोशी–त्रिशूली विपत्तिबाट करिब ७ हजार ५७० घर प्रभावित भएको देखाएको छ । ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल, ६८ झोलुंगे पुल र करिब १ हजार ८०६ हेक्टर कृषि भूमि क्षति भएको प्रारम्भिक अनुमान छ । तर क्षतिको अर्को ठूलो हिस्सा निजी क्षेत्रले बेहोरेको छ ।
प्रारम्भिक आरडीएनएको अध्ययन अनुसार कुल क्षति तथा आर्थिक नोक्सानी करिब ४०८ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ, जसको ठूलो हिस्सा निजी क्षेत्रसँग सम्बन्धित रहेको रिपोर्टमा उल्लेख छ । त्यसैले पुनर्निर्माणको अर्थ
भत्किएको पुल फेरि बनाउनु मात्र होइन । भत्किएका मनहरुलाई आश्वस्त पार्ने र उनीहरुको सुरक्षित बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु हो । बिल्ड ब्याक बेटरको भन्ने अवधारणा भोटेकोशीमा नाराभन्दा बढी आवश्यक देखिन्छ ।
के सिक्ने ?
२६ अगस्टको बिहान भोटेकोशीले केवल घर, पुल र आयोजना बगाएन । यसले हामीलाई नेपालको विकास, जोखिम र भविष्यबप्रति प्रश्नहरुको उत्तर खोजी गर्ने अवसर पनि दिएको छ । हामीले नदीलाई ऊर्जा ठान्यौँ । नदीलाई व्यापारको बाटो र पर्यटनको आधार ठान्यौँ । तर नदीको माथि रहेको पहाडलाई पटक्कै बुझ्न सकेनौं । हिमतालका गतिविधिलाई निगरानी गर्न सकेनौं । नदी किनारमा बनाइएका संरचनाको जोखिम मूल्यांकन गर्न चुक्यौं । र सबैभन्दा महत्वपूर्ण- प्रकृतिले दिएको चेतावनीलाई विपत्ति भएपछि मात्र सुन्ने कि विपत्ति आउनुअघि नबुझ्ने सिलसिला दोहोर्याइरह्यौं ।
भोटेकोशीको पानी विस्तारै घट्ला । सडक र पुलहरु फेरि बन्लान् । जलविद्युत् आयोजना फेरि सञ्चालनमा आउलान् । तर हजारौँ परिवारले गुमाएका आफन्तहरु कहिल्यै फर्किने छैनन् । त्यसैले भोटेकोशीको वास्तविक पुनर्निर्माण कंक्रिटबाट होइन, जोखिम बुझ्ने हाम्रो क्षमताबाट सुरु हुनुपर्छ ।
किनकि यो केवल १० भदौ २०८३ को कथा होइन । यो बदलिँदो हिमालयमा नेपालले अब कसरी बाँच्ने भन्ने प्रश्न हो । यसको उत्तर सरकारले आजकै दिनदेखि खोजेर आगामी दिनमा यस्तो क्षति कहिल्यै व्यहोर्न नपर्ने गरी काम गरियोस् अब कसैका आँखाहरु आफन्त पर्खिँदै महिनौंसम्म विक्षत भूमीतीर तेस्राउन नपरोस् । । सरकारलाई यहीँबाट यति सुझाव छ ।





