काठमाडौं । नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइपछि रसुवाको स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रसम्म पहुँचमार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल भएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्म सडक सञ्जाल जोडिएको हो। भौगोलिक चुनौतीका बीच नेपाली सेना तथा सम्बद्ध निकायले साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खोल्न सफल भएका छन्।

यसअघि साना हेलिकप्टरबाट मात्रै पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गरिएको थियो। एक्स्काभेटरको प्रयोगबाट ५५० मिटर सडक तयार पारिएपछि बाँकी कडा पहरा नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण गरेको हो।
पहरा फोर्ने र ब्लास्टिङको कठिन काम सम्पन्न भएसँगै चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्म ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ।



