काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ज्यानको जोखिम मोलेर नागरिकको उद्धारमा खटिने नेपाली सुरक्षाकर्मीको तलब तथा सेवा–सुविधा तत्काल वृद्धि गर्न सरकारसँग माग गरेका छन्।
शाहीले निजामती सेवाका कार्यालय सहयोगीभन्दा २९४ रुपैयाँ कम तलबमा समेत सुरक्षाकर्मीले देश र जनताको सेवामा खटिनुपरेको भन्दै अब धन्यवाद र सम्मानका शब्दले मात्र नपुग्ने बताएका छन्।

उनले सुरक्षाकर्मीको तलब, जोखिम भत्ता, बीमा, स्वास्थ्य सेवा, आवास लगायतका सुविधा उल्लेख्य रूपमा बढाउन प्रधानमन्त्री बालेन शाहसँग मन्त्रिपरिषद्को तत्काल बैठक बोलाएर निर्णय गर्न अपिल गरेका छन्।
संकटको समयमा आफ्नो ज्यानको पर्वाह नगरी हजारौँ नागरिकको जीवन बचाउन खटिने सुरक्षाकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दै शाहीले उनीहरूको तलब वृद्धि गर्न सरकारमाथि जनस्तरबाट दबाब सिर्जना गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।



