कैलाली । युवा पुस्तालाई प्रकृति, संस्कृति र सिकाइसँग जोड्दै सुखद, सफल र शान्त जीवनयापनतर्फ उन्मुख गराउने उद्देश्यले शनिबार कैलालीमा ‘शान्ति पदयात्रा’ अभियान सुरु गरिएको छ। ‘स्वस्थ, व्यस्त र मस्त रहनुस्’ भन्ने नाराका साथ सुरु गरिएको पदयात्रा कैलालीको पवित्र धार्मिक तथा पर्यटकीय स्थल गोदावरीबाट सुरु भएको हो।
गोदावरीबाट उत्तर–पूर्वतर्फ फूलबस्ती जाने पदमार्ग हुँदै अघि बढाइएको पदयात्रामा प्रकृतिको अवलोकन, सांस्कृतिक अनुभूति, सामूहिक सहकार्य र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिइएको छ।

पदयात्राको अनुभव सुनाउँदै गीता फर लाइफका संस्थापक संयोजक डा. हरिचन्द्र कमलीले यस अभियानले स्थानीय आन्तरिक पर्यटन प्रवर्द्धनसँगै संस्कृति संरक्षण, सामूहिक सहकार्य र प्राकृतिक जीवनपद्धतिप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले पदयात्राले मानिसलाई शारीरिक रूपमा सक्रिय राख्नुका साथै मानसिक शान्ति र सकारात्मक सोच विकास गर्नसमेत सहयोग पुग्ने बताउनुभयो। प्रकृतिसँग नजिकिँदै केही समय बिताउँदा सुखी र शान्त जीवन जिउन प्रेरणा मिल्ने उहाँको भनाइ छ।
डा. कमलीका अनुसार ‘शान्ति पदयात्रा’ निरन्तर सञ्चालन हुनेछ र इच्छुक जोकोही यसमा सामूहिक रूपमा सहभागी हुन सक्नेछन्।
पदयात्राप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै रुचि बढ्दै गएको अवस्थामा धनगढी, अत्तरिया र महेन्द्रनगरजस्ता ठूला शहरको नजिकै रहेको यो पदमार्गको सम्भावना पनि उच्च देखिन्छ। छोटो दूरीमै प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा धार्मिक–सांस्कृतिक पक्षको अनुभूति गर्न सकिने भएकाले यो क्षेत्रलाई आकर्षक पदयात्रा गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।
एक दिनमै पदयात्रा गर्दै प्रकृतिको आनन्द र शान्त वातावरणको अनुभूति गर्न सकिने भएकाले आगामी दिनमा यस अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
यस पदमार्गलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन स्थानीय तह तथा प्रदेश सरकारले आवश्यक पूर्वाधार विकास, प्रचार–प्रसार र संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। उचित व्यवस्थापन र प्रवर्द्धन गर्न सके ‘शान्ति पदयात्रा’ कैलालीको पर्यटन विकासमा नयाँ आकर्षण बन्न सक्ने देखिन्छ।



