काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको परिषद् बैठकले विद्यालय शिक्षा ऐन जारी, शिक्षामा लगानी वृद्धि र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गर्दै निर्णायक आन्दोलनमा जाने निर्णय गरेको हो।
महासंघले बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदानका शिक्षकको तलब, भत्ता र सेवा–सुविधा वृद्धि गर्नुपर्ने माग गरेको छ। यस्तै, अस्थायी तथा करार शिक्षकको पेसागत सुरक्षा, स्थायी शिक्षकको बढुवा र पेन्सनसम्बन्धी व्यवस्था सुधार गर्नुपर्ने शिक्षक महासंघको माग छ।

शिक्षक महासंघले शिक्षा नियमावलीको १०औँ संशोधनमा गरिएको सरुवा व्यवस्था परिवर्तन गर्नुपर्ने तथा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने पनि माग अघि सारेको छ।



