काठमाडौं: देशमा पछिल्लो समय विकसित संवेदनशील परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, संयमता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

जारी गरिएको अपिलमा भावनामा बगेर होइन, बुद्धि, विवेक र संयमताका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ। कुनै एक व्यक्तिको सानो गल्ती वा उत्तेजनात्मक गतिविधिले वर्षौँदेखि कायम रहेको सामाजिक सद्भावमा गम्भीर असर पर्न सक्ने भएकाले सबैलाई जिम्मेवारीपूर्वक अभिव्यक्ति दिन आग्रह गरिएको छ।

अपिलमा सनातन धर्मले अन्यायको प्रतिकार गर्न सिकाए पनि घृणा फैलाउन नशिकाउने उल्लेख गर्दै धर्मको रक्षा हिंसाबाट नभई धर्माचरण, नैतिकता र मानवताबाट हुने विश्वास व्यक्त गरिएको छ। साथै, नेपाल भगवान् गौतम बुद्धले शान्ति, करुणा र अहिंसाको सन्देश दिएको भूमि भएकाले क्षणिक आवेग, अफवाह र उत्तेजनाबाट प्रभावित नहुन सबैलाई अनुरोध गरिएको छ।

सरकारसँग घटनाको निष्पक्ष, पारदर्शी तथा द्रुत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरिएको छ। त्यसैगरी सुरक्षा निकायलाई पनि संवेदनशील परिस्थितिमा बल प्रयोगलाई पहिलो विकल्प नबनाई संवाद, संयमता, धैर्यता र मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राखेर अवस्था व्यवस्थापन गर्न सुझाव दिइएको छ।

अपिलमा राजनीतिक दल, धार्मिक अगुवा, सामाजिक अभियन्ता, बुद्धिजीवी, युवा तथा आम नागरिकलाई आरोप–प्रत्यारोप र द्वेषको राजनीति त्यागी शान्ति स्थापना र सामाजिक सद्भाव कायम राख्न एकताबद्ध हुन आग्रह गरिएको छ।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि अपुष्ट सूचना, सनसनीपूर्ण शीर्षक तथा भावनालाई भड्काउने सामग्री प्रकाशन वा प्रसारण नगर्न अनुरोध गरिएको छ। सत्य, तथ्य र जिम्मेवार पत्रकारितामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ।

अन्त्यमा सम्पूर्ण देशवासीलाई अफवाहको पछि नलाग्न, उत्तेजनाको सिकार नबन्न र प्रतिशोधको बाटो नअपनाउन आग्रह गर्दै शान्ति, आपसी विश्वास, न्याय र राष्ट्रिय एकतामार्फत मात्र समाज, धर्म र राष्ट्रको रक्षा सम्भव हुने उल्लेख गरिएको छ। अपिलको अन्त्यमा “क्रोध होइन, करुणा; द्वेष होइन, संवाद; प्रतिशोध होइन, न्याय; विभाजन होइन, राष्ट्रिय एकता” भन्ने सन्देशसहित “ॐ शान्ति!” व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय