काठमाडौं: संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापारमन्त्री डा. थानी अहमद अल जेयौदीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डललाई चन्द्रागिरिमा स्वागत तथा रात्रिभोजको आयोजना गरिएको छ।
कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाल, नेपालका लागि यूएईका राजदूत अब्दुल्ला अल शम्सी, यूएई उद्योग वाणिज्य महासंघका महासचिव हुमैद बिन सालेम, नासेर अल जुनेबी तथा नेपाल र यूएईका सरकारी एवं निजी क्षेत्रका विशिष्ट प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

आयोजकले निजी क्षेत्रको लगानीमा निर्माण भएको चन्द्रागिरिमार्फत नेपालको प्राकृतिक सौन्दर्य, पर्यटन पूर्वाधार तथा लगानीका सम्भावना अन्तर्राष्ट्रिय प्रतिनिधिसामु प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।
कार्यक्रममा पर्यटन, जलविद्युत्, पूर्वाधार, विद्युतीय भुक्तानी, वित्तीय प्रविधि, कृषि, उत्पादनमूलक उद्योग तथा ढुवानी व्यवस्थापनलगायतका क्षेत्रमा संयुक्त लगानीमार्फत सहकार्य विस्तार गर्न सकिनेमा जोड दिइएको छ।
यसैगरी, नेपाल–यूएईबीच द्विपक्षीय लगानी सम्झौता, दोहोरो कर नपर्ने सम्झौता तथा व्यापक आर्थिक साझेदारी सम्झौता सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै यी सम्झौताले लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रबीच सहकार्य विस्तार तथा आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
दुवै देशबीच सन् २०२७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरलाई व्यापार, लगानी र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ।




