काठमाडौं: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीभित्र अनावश्यक विवाद र निराशा फैलाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले केही नेताहरूले पार्टी, आन्दोलन, नीति र नेतृत्वप्रति अनावश्यक कचिंगल सिर्जना गर्ने प्रयास गरिरहेको टिप्पणी गरे।

नेता झलनाथ खनाल ले बुझाएको ३६ बुँदे आरोपपत्रको प्रसङ्गलाई संकेत गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताका लागि लडेका दलहरूलाई कमजोर पार्ने प्रयास गरिरहेको दाबी गरे।
साथै, पार्टीभित्रकै केही सदस्यहरू पनि जानेर वा नजानेर निराशा फैलाउने कार्यमा संलग्न भएको उनको भनाइ थियो।
“प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौँ, फ्रस्टेसन बाँड्ने काम नगरौँ,” उनले भने।
उनले पार्टीलाई एकताबद्ध गर्दै आगामी महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए।
संगठन सुदृढीकरण, नयाँ नेतृत्व विकास र कार्यशैली सुधारतर्फ अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।




