काठमाडौं: नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै झापाका चिया उद्योगीहरूले भोलि (असार ४) देखि अनिश्चितकालका लागि उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल चिया उत्पादक सङ्घ झापाले भद्रपुरमा पत्रकार सम्मेलन गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो।

उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि समस्या उत्पन्न भएको हो।
सङ्घका अनुसार नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको छ, जसमा करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको छ।
उद्योगीहरूले चिया निर्यातका लागि बङ्गलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा बजार खोज्न सरकारसँग पहल गर्न पनि आग्रह गरेका छन्।
चिया क्षेत्रले करिब ६० हजार श्रमिकलाई रोजगारी दिइरहेको र वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व संकलन हुँदै आएको छ।




