काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले देशका सबै ७७ जिल्ला सदरमुकाममा फाइबर इन्टरनेट सेवा पुर्याइसकिएको बताएका छन्।
प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले अब सेवा विस्तारलाई वडा तहसम्म लैजाने तयारी भइरहेको जानकारी दिए।

मन्त्री तिमिल्सिनाका अनुसार डिजिटल पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ।
मध्यपहाडी लोकमार्गलगायतका प्रमुख सडक क्षेत्रहरूमा अप्टिकल फाइबर बिछ्याउने काम तीव्र रूपमा अघि बढाइएको उनले बताए।
सञ्चार सेवाको पहुँच बढाउन हाल ७६३ स्थानमा मोबाइल नेटवर्क पूर्वाधार सञ्चालनमा आएको र थप टावर तथा उपकरण खरिद प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए।
उनले हुलाक सेवालाई पुरानो शैलीबाट हटाएर प्रविधिमैत्री बनाइँदै लगिएको बताए। केही जिल्लामा राहदानी, लाइसेन्स र अन्य कागजातहरू घरदैलोमै पुर्याउने सेवा सुरु गरिएको छ।
त्यसैगरी चलचित्र क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र नीतिगत सुधार भइरहेको उल्लेख गर्दै काभ्रेको बनेपामा निर्माणाधीन आधुनिक स्टुडियो आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
सुरक्षण मुद्रणका समस्या समाधान गर्दै लाइसेन्स छपाइलाई नियमित बनाइएको र अब माग अनुसार तुरुन्त उपलब्ध गराउने प्रणाली विकास भइरहेको पनि मन्त्रीको भनाइ छ।




