काठमाडौं: चीनको चार दिने औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यी बीच आज बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुँदैछ।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार स्थानीय समयअनुसार अपराह्न ५:४५ बजे हुने वार्तामा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उनी वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका हुन्।
बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागी हुँदै उनले नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए।
सो अवसरमा उनले सरकारका प्राथमिकता सुशासन, आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताउँदै विदेशमा रहेका नेपालीलाई देशको विकास अभियानमा योगदान गर्न आह्वान गरेका थिए।
परराष्ट्रमन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।




