काठमाडौं: काठमाडौं महानगरपालिकाको १९ औँ नगर सभामा आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रिय सभा गृहमा आयोजित सभामा ११ क्षेत्र समेटिएको १०१ बुँदाको नीति तथा कार्यक्रम पेश गर्नुभयो।

महानगरले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय तथा सुशासनयुक्त सहर निर्माणलाई मुख्य लक्ष्य बनाएको छ।
नीतिमा सुशासन, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार विकास, सम्पदा–संस्कृति तथा पर्यटन, सूचना प्रविधि र उपभोक्ता हितजस्ता क्षेत्र समेटिएका छन्।
कार्यवाहक प्रमुख डंगोलले नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै सरोकारवालाको सहभागिता आवश्यक रहेको बताउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमार्फत लक्ष्य हासिल गर्ने उल्लेख गर्नुभयो।
यसअघि ५१ औँ कार्यपालिका बैठकमा छलफल गरी नीति तथा कार्यक्रम नगर सभामा पेश गर्ने निर्णय गरिएको थियो।
पेश गरिएको नीतिमाथि छलफल गर्न असार १ गते बिहान ८ बजे दोस्रो बैठक बस्ने भएको छ।






