काठमाडौं: नेपाली चिया निर्यातमा भारतीय पक्षबाट अवरोध सिर्जना भएपछि इलामका चिया उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको भन्दै उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको जनाएको छ।

उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चियाको निर्यात प्रभावित बनेको छ।

जटिल गुणस्तर परीक्षण प्रक्रिया, परीक्षण नतिजामा ढिलाइ तथा भण्डारण व्यवस्थाको अभावले ठूलो परिमाणमा तयारी चिया रोकिएको बताइएको छ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार हाल करिब १२ लाख किलो तयारी चिया बिक्रीविहीन अवस्थामा थन्किएको छ।

त्यसमध्ये २ लाख किलोभन्दा बढी चिया भारतीय गोदाममै रोकिएको छ भने १० लाख किलोभन्दा बढी चिया नेपाली उद्योगहरूमा मौज्दात रहेको छ।

उद्योगीहरूले भारतीय पक्षले परीक्षणका लागि लगिएका नमुनाको रिपोर्ट समयमै उपलब्ध नगराउने र गुणस्तरमा समस्या देखिए चिया नष्ट गर्नुपर्ने जस्ता प्रावधान लागू गरेको गुनासो गरेका छन्।

निर्यात ठप्प हुँदा उद्योगहरूले किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानी दिनसमेत कठिन भएको एसोसिएसनले जनाएको छ।

यही कारण उद्योग सञ्चालन असम्भव बन्दै गएको भन्दै असार १ गतेदेखि सम्पूर्ण उद्योग बन्द गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

उद्योग बन्दबाट किसान, श्रमिक तथा व्यवसायीहरू प्रभावित हुने भन्दै एसोसिएसनले समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग तत्काल पहल गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय