काठमाडौँ: शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका तीन प्रमुख निर्णय सार्वजनिक गरेको छ।
बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलको अवधि एक महिना थपिएको हो।
त्यसैगरी, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ।
यस्तै, मन्त्रिपरिषद्ले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।





