नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले ३६ बलमा ४ चौका र २ छक्कासहित ५६ रन बनाए। त्यस्तै, इशान पाण्डेले ३७ रनको योगदान दिए।सुरुवातमै विकेट गुमाएको सुदूरपश्चिमका लागि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे। शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए भने महेदी हसनले ३२ रन जोडे। कप्तान कुशल भुर्तेलले २१ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए। हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए। यस जितसँगै साविक उपविजेता सुदूरपश्चिमले नयाँ सिजनमा जितको खाता खोलेको छ। कप्तान दीपेन्द्रको उत्कृष्ट ब्याटिङ र बलियो साझेदारीले टोलीलाई प्रतियोगितामा महत्त्वपूर्ण जित दिलाएको छ।



