काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट आफू र प्रधानमन्त्रीमाथि नियोजित रूपमा आक्रमण भइरहेको दाबी गर्नुभएको छ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले ठूलो वित्तीय अपराधमा संलग्न व्यक्तिहरूमाथि छानबिन अघि बढाइरहेको र सोही कारण केही समूह असन्तुष्ट बनेको बताउनुभयो।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ। नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमै यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित–पोषित शक्तिहरूले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन् भन्ने शंका लागेको छ।”
अर्थमन्त्री वाग्लेले सार्वभौम संसदका सांसदहरूलाई यस्ता समूहका प्रचार र प्रभावबाट प्रभावित नहुन आग्रह गर्दै संसदको गरिमा जोगाउन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो।
उहाँले संसदको मर्यादा र विश्वसनीयता कुनै पनि बहाना वा हल्लाको पछि लागेर कमजोर पार्न नहुने धारणा समेत व्यक्त गर्नुभयो।





