काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त एक अध्यक्ष र एक महिलासहित चार सदस्य पदका लागि बिहीबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ।
‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम साविकका पदाधिकारीहरू स्वतः पदमुक्त भएपछि नेतृत्वविहीन बनेको आयोगमा नयाँ सारथी चयनका लागि ऊर्जा मन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेर यो प्रक्रिया अघि बढाएका हुन्।

विद्युत् नियमन आयोग ऐन, २०७४ को कानूनी व्यवस्था अनुसार तोकिएको न्यूनतम शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र मन्त्रालयको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा आवेदन दिइसक्नुपर्नेछ।
नेपालको ऊर्जा क्षेत्र महसुल निर्धारण र उपभोक्ता संरक्षणदेखि अन्तरदेशीय व्यापारको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कर्णालीका ग्रामीण भान्सादेखि तराईका औद्योगिक क्षेत्रसम्मलाई समेट्ने गरी उदीयमान विद्युत् अर्थतन्त्रको संरचना निर्माण गर्न प्राविधिक गहिराइ र नीतिगत परिकल्पना भएका उच्च क्षमतावान् व्यक्तिहरूलाई प्रतिस्पर्धामा आउन आह्वान गरेका छन्।




