काठमाडौँ: नेपालको शिक्षा क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन विश्व बैंकले ठूलो लगानी गर्ने इच्छा देखाएको छ।
बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र विश्व बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेन बीच मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको शैक्षिक सुधारका लागि थप लगानी र सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको हो।

भेटका क्रममा विश्व बैंकले विशेष गरी विद्यालयको भौतिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षामा पहुँच विस्तार र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणमा साझेदारीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
शिक्षामन्त्री पोखरेलले सरकारले फाउन्डेसन लर्निङ, शिक्षाको डिजिटाइजेशन र प्रविधि विस्तारलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाएको जानकारी दिँदै विकास साझेदारहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभएको छ।




