काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पहिलोपटक अमेरिकी अदालतमा उपस्थित भएका छन्। उनीमाथि लागेका गम्भीर आरोपहरूका विषयमा सुनुवाइका क्रममा मादुरोले सबै आरोप अस्वीकार गरेका छन्।
अमेरिकी न्याय विभागले मादुरोमाथि लागुऔषध तस्करी, आपराधिक संगठनसँग साँठगाँठ र अन्तर्राष्ट्रिय अपराधलाई संरक्षण गरेको आरोप लगाउँदै आएको छ। अदालतमा उपस्थित हुँदा मादुरोले यी आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित र भेनेजुएलाको सार्वभौमिकतामाथिको आक्रमण भएको दाबी गरेका छन्।

उनले अमेरिकी सरकार आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाउँदै न्यायिक प्रक्रियालाई मान्यता नदिने संकेतसमेत दिएका छन्। मादुरोका कानुनी प्रतिनिधिले प्रमाणको अभावमा आरोप टिक्न नसक्ने बताएका छन्।
उता, अमेरिकी पक्षले भने मादुरोमाथि लागेको आरोपबारे थप प्रमाण र साक्षी पेश गरिने जनाएको छ। यस घटनाले अमेरिका–भेनेजुएला सम्बन्धमा थप तनाव उत्पन्न हुने विश्लेषकहरूले बताएका छन्।



