काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगिता आगामी कात्तिक २७ गतेसम्म चल्नेछ। यसपटक ८ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र घरेलु टोली काठमाडौं गोर्खाज आमनेसामने हुने भएका छन्। खेल अपरान्ह ४ बजेबाट सुरु हुनेछ। पहिलो खेलका लागि सबै टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ।

गत संस्करण सामान्य स्तरको मैदानमा सम्पन्न भए पनि यसपटक रंगशालामा १० हजार दर्शक क्षमता भएको प्यारापिट निर्माण गरिएको छ भने ६ वटा आधुनिक फ्लडलाइट जडान गरिएको छ, जसले प्रतियोगितालाई नयाँ रूप प्रदान गर्ने अपेक्षा गरिएको छ।
पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो। त्यसै सफलतालाई दोहोर्याउने लक्ष्यसहित जनकपुर दोस्रो संस्करणमा उत्रिनेछ।



