• प्रेमलाई खेलौना बनाइएको सामाजिक प्रवृत्ति -जब प्रेम गरिन्छ, तर जिम्मेवारीँ हुँदैन।
• धोका खाएको नारीको मौन पीडा – र हाम्रो चुप्पी।
• दोष केवल व्यक्तिगत होइन -यो सामाजिक संरचनाको, संवेदनाको असफलताको कथा हो।
• अब समय आएको छ – प्रेमलाई प्रतिबद्धता बनाउने, नारीलाई सुरक्षा र सम्मान दिने।

 

  इन्दिरा निरौला 

आजको नेपाली समाजमा एउटा गहिरो चिरा परेको छ। त्यो चिरा हो प्रेम र विश्वासको। आजका केटाकेटीहरू प्रेम गर्छन्, स्वच्छ भावनाबाट भरिएका सपनाहरू बुन्छन, तर ती सपनाहरू धेरैजसो अधुरा रहन्छन्। प्रेम सुरु हुन्छ जोश र उमङ्गबाट, तर अन्त्य हुन्छ दर्दनाक आँसु र बेदनाको बेहालबाट।

हालैको घटनाले सिङ्गो नेपाली समाजको जग हल्लिएको छ। गायिका नितु पौडेल। गीत र स्वरले देशका हजारौं नरनारीका हृदय छोएकी ती युवती आज भौतिक जगतबाट सधैंका लागि अस्ताएकी छन्। उनले आत्महत्या गरिन् प्रेममा धोका पाएर, विश्वासमा चोट खाएर, जीवनप्रतिको बाँच्ने आशा हराएर।

आज नेपाली समाजमा हजारौं हजार प्रश्नको चाङ लागेको छ। दोष केवल नितुको थियो ?
त्यो केटा दोषी हो, जसले प्रेमको नाममा नारीको जीवनसँग खेल्यो ?
वा दोष हामी सबैको हो, जसले एक नारीको पीडालाई “उनै गल्ती थिइन होला” भनेर हेला गर्‍यौं ?

हाम्रो समाजले अझै पनि नारीलाई बलियो बन्ने ठाउँ दिएको छैन। जब उसले प्रेम गर्छ, ऊ असल होस् वा नहोस् उसको प्रेम नै उसको अपराध ठहरिन्छ। जब ऊ धोका खान्छ, ऊ चुप लाग्छ, र अन्ततः आफ्नै जीवनलाई समाप्त गर्छ। अनि हामी “कसरी यस्तो भयो?” भनेर फेसबुकमा स्टाटस लेख्छौं, तर वास्तविक जीवनमा उसलाई बाँच्न प्रेरणा दिने कोही हुँदैन।

नितु एक गायिका मात्रै नभई उनी समाजको उदाउँदो प्रतीक थिइन। हाम्रो प्रेमको परिभाषा कहाँसम्म बिग्रिएको छ, हाम्रो समाजको संवेदना कति कठोर भइसकेको छ।

प्रेम केवल “म तिमीलाई माया गर्छु” भन्ने शब्द होइन। प्रेम जिम्मेवारी हो, वाचा हो, आस्था हो। तर आजको पुस्ताले प्रेमलाई खेलौना बनाइरहेको छ।
सुरुमा ‘लिभिङ टुगेदर’, अन्त्यमा ‘धोका’। अनि एउटा नारीको जीवन, परिवारको सपनाहरू, र समाजको आस्था सबै जल्छन्।

नितुको मृत्यु उनको सासको अन्त्य मात्र नभई
यो हाम्रो सामूहिक समाजको असफलता हो।
आज सिङ्गो समाज असफल भएको छ।नारीलाई सुरक्षाको अनुभूति दिनमा, प्रेमलाई पवित्र राख्नमा, र मानवीय संवेदना जोगाउनमा।

यदि हामीले प्रेमलाई जिम्मेवारीसँग बाँध्न सकेनौं भने,
यदि हामीले नारीको पीडामा सहानुभूति देखाउन सकेनौं भने,
नितुहरू हरेक वर्ष जन्मिरहनेछन्, र मर्नेछन्। हाम्रो समाजको मौन दोषका साक्षी भएर।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय