काठमाडौं : सडक आन्दोलनबाट आएका जेन–जि आन्दोलनका लिडर र अगुवाहरू एकताबद्ध हुँदै आगामी दिनमा भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध सुशासन स्थापनाका लागि ‘महाअभियान’ सञ्चालन गर्ने निर्णय गरेका छन्। बालुवाटार स्रोतका अनुसार, सो टोलीले सरकारलाई आवश्यक नीति–निर्देशन र मार्गदर्शन दिँदै अघि बढ्ने तयारी गरेको छ।
बैठकका सहजकर्ता सुदन गुरुङले गृहमन्त्री ॐ प्रकाश अर्याललाई जेन–जि आन्दोलनका क्रममा भएका नरसंहारका जिम्मेवारहरूलाई तत्काल कानुनी कारबाही गर्न निर्देशन दिएका थिए।

त्यसैगरी सह–सयोजक अर्जुन शाहीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नअपनाई देशमा सुशासन सम्भव नहुने भन्दै स्वतन्त्र न्यायपालिका र राजनीतिक भागबण्डाको अन्त्य अपरिहार्य भएको बताए।
कोर कमिटी लिडर टंक धामीले भने, “समाज रूपान्तरणको लागि पहिलो सर्त व्यक्तिको नियत शुद्ध हुनु हो। नियत सफा नभए आर्थिक, सामाजिक र भौतिक रुपान्तरण असम्भव हुन्छ,” भन्दै देशमा फैलिएको आर्थिक असमानता अन्त्यका लागि सबै जिम्मेवार पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
बैठकमा अर्थमन्त्री रमेश्वर खनाल, गृहमन्त्री ॐ प्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग मन्त्री अजय कुमार सिन्हा, मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका सल्लाहकारहरूको समेत उपस्थिति रहेको थियो।
स्रोतका अनुसार, राजनीतिक दलहरूको प्रभावमा परेर जेन–जि कमिटीलाई विचलित पार्ने प्रयास गर्ने केही अराजक तत्वहरूलाई बैठक स्थलबाट निकालिएको थियो।उक्त समुहमा सहभागी हुन खोज्ने
माओवादी, विवेकशील–साझा, एमाले, जसपा र लोसपाबाट केही प्रतिनिधिहरूले कमिटीमा घुसपैठ गर्न खोजेका थिए , घुसपैठ गर्न खोज्नेहरुलाइ निषेध गरिएको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानसेनापतिसँगको निरन्तर छलफलपछि जेन–जि लिडरहरूले कुनै पनि प्रकारको दलगत घुसपैठ अस्वीकार गर्ने र सहिदहरूको बलिदान तथा घाइतेहरूको योगदानलाई कम आँक्ने प्रयास सह्य नहुने निष्कर्ष निकालेका छन्।
प्रधानसेनापति र जेन–जि वार्ता कमिटीबीचको छलफल २०७२ भाद्र २५ गते बिहान १० बजेबाट सुरु भएको थियो। सो बैठकमा देशको राजनीतिक स्थायित्वका लागि सुशिला कार्कीको नेतृत्वमा अन्तरीम सरकार गठन गर्ने प्रस्तावसमेत अघि सारिएको थियो।
सो कमिटीमा अर्जुन शाही, सुदन गुरुङ, टंक धामी, बिप्लव राय, अनिल बानिया, सन्तोष कुमार शर्मा, जेम्स कार्की, सुमन शाही, दिवाकर दङ्गाल, मोहन पन्थी, भावुक पोख्रेल र विश्वनाथ अधिकारी रहेका थिए।
प्रधानसेनापतिले बैठकमा युवाहरूको पहललाई स्वागत गर्दै “देश निर्माणको अभियानमा सेना युवासँग सहकार्य गर्न तयार छ” भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।



