इन्दिरा निरौला
न्यायालयको त्यो उचो भवनमा मैले संविधानको किताब हेरेँ,
तर न्यायाधीशको मनभित्र शक्ति र सानको दम्भ देखे।न्यायका प्रतीक ती आँखाहरू बाँधिएका थिए,
तर बाँधिएको थिएन सत्ताको टेलिफोनको लाइन।
जहाँबाट आउँथ्यो आदेश
“उहाँकाे पक्ष जिताउनु, किनभने त्यो मैले हेरको मुद्दा हाे!”
यो देशमा अब न्याय झोला हो
जो बलवानको काँधमा सजिन्छ,
र निरीहको काँधमा थिचिन्छ।

उहाँले न्यायको सिँहासनमा होइन,
सत्ताको निर्देशन कक्षमा बसेर फैसला लेख्नुभयो।
उहाँले सत्य हेरेनन्, फोन हेरे,
उहाँले प्रमाण सुनेनन्, आदेश माने।
उहाँले विचार गरेनन्,
कसैका पक्षमा फैसला मात्र गरे।
किनभने, त्यो “उहाँले हेरेको मुद्दा” थियो।
र जब एउटा साहसी वकिलले
सत्यको उजुरी बोकेर न्याय परिषद्को ढोका ढकढक्याए,
त्यस ढोकाभित्र पनि
उही सत्ता र सञ्जालको पुरानै धुवाँ थियो।
उजुरीको उत्तर बन्यो –
“उहाँले हेरेकाे मुद्दा हो!”
र त्यो सफाइ दिने न्यायाधीशलाई
बढुवा गराउने दौड सुरु भयो।
न्याय परिषद् पनि शायद अब
न्यायको होइन,
सफा भाषण र सफा सम्बन्धको प्रतिस्पर्धा हो।
आज हामी न्याय खोज्दैछौँ।
तर पाइरहेका छौँ।
फोन आदेश, सत्ताको आदेश,
र “मैले हेरेको मुद्दा” भन्ने अहंकार।
हामीले सोध्नैपर्छ।
न्याय के हो?
एकजना ठूलाे मान्छेले हेरेको मुद्दा जिताउने चक्र हो?
कि सत्य र प्रमाणकाे तौलमा जो सही छ, उसलाई जिताउने भूमि?
न्यायाधीशज्यू,
सत्यको आँखामा आँसु छ।
प्रेसरले लेखिएको फैसला कति दिन टिक्ला?
तर पिडिको आसु इतिहासले तपाईंको मौनतालाई कहिले माफ गर्नेछैन।



