काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम तीव्र रूपमा अघि बढाइएको जानकारी गराउनुभयो। उहाँले बाढीपछि बेपत्ता नागरिकहरूको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

प्रधानमन्त्री शाहले न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च संवेदनशील राष्ट्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउन न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोग आवश्यक रहेको बताउनुभयो।
सो क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्युजिल्यान्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभयो।



