पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।

आगामी शनिवार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

ज्येष्ठ नागरिकलाई श्रीमद्भागवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने उनले बताए । सोही अवसरमा सामाजिक अभियन्तालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।

कोटीहोममा सोमबार पनि भक्तजनको उत्साहजनक सहभागिता रहेको आयोजकले दाबी गरेको छ । प्रचारप्रसार संयोजक ढकालका अनुसार १९ दिन कोटीहोम चल्दै गर्दा करिब एक लाख ६५ हजार भक्तजन सहभागी भए ।

 

कोटीहोममा सोमबार बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । साथै एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।

शनिवारदेखि खुला भजन चुट्का प्रतियोगिता अझै जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।

धर्मगुरुहरूको ओइरो लाग्दै

कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल,  जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदै छन् ।

जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ । देवीले यसअघि १४ दिन श्रीमद्भागवत कथा सुनाएर फर्किएकी हुन् ।

कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी छ ।

कोटीहोममा सोमबार भएको रक्तदान कार्यक्रममा २३ युनिट रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रम हरेक दिन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय