दार्चुला — अपिहिमाल गाउँपालिकाले अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित यहि कात्तिक १७ देखि १९ गतेसम्म अपिहिमाल पर्यटन उत्सव २०८३ आयोजना गर्ने भएको छ। गाउँपालिका–१ स्थित अपि हिमालको आधार शिविरमा आयोजना हुने उत्सवमा चालु आर्थिक वर्षभित्र कम्तीमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बिहीबार पत्रकार सम्मेलनमार्फत उत्सवको तयारी, कार्यक्रम तालिका, पर्यटकको व्यवस्थापन, स्वास्थ्य सुरक्षा र पर्यटन प्रवर्द्धनका योजनाबारे जानकारी दिएका हुन् । अध्यक्ष बोहराका अनुसार उत्सवलाई औपचारिक कार्यक्रम र समारोहमा मात्र सीमित नराखी पर्यटकले अपि हिमालको प्राकृतिक सौन्दर्यमा रमाउने, घुम्ने तथा तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने अवसरका रूपमा विकास गर्न खोजिएको छ। यसबाट थप पर्यटकलाई अपि हिमाल भ्रमणका लागि आकर्षित गर्ने गाउँपालिकाको योजना छ ।
उत्सवको पहिलो दिन कात्तिक १७ गते उद्घाटन समारोह, सांस्कृतिक झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति र साहित्यिक कार्यक्रम आयोजना गरिनेछ । दोस्रो दिन कात्तिक १८ गते मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । तेस्रो दिन कात्तिक १९ गते जलवायु संवाद, योग तथा ध्यान शिविर र समापन कार्यक्रम आयोजना गरिने अध्यक्ष बोहराले जानकारी दिए । उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ । खेलकुद कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सुमित पोखरेलले गर्ने कार्यक्रम रहेको छ । अन्य अतिथिको सहभागिता टुंग्याउने काम भइरहेको र सहभागीको अन्तिम सूची भोलिसम्म सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ । उत्सवमा प्रधानमन्त्री, संघीय मन्त्री, प्रदेश सरकारका मन्त्री, संघीय तथा प्रदेश सांसद, सातै प्रदेशका पर्यटनमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकारी अधिकारी, स्थानीय तहका प्रमुख, पर्यटन तथा होटल व्यवसायी, उद्यमी, सञ्चारकर्मी र कलाकारलगायत कम्तीमा ५०० अतिथिलाई निमन्त्रणा गरिएको छ ।

प्रदेशस्तरीय कार्यक्रम भएकाले सहभागीको संख्या बढ्न सक्ने अनुमानसहित गाउँपालिकाले आवास तथा खानपानको व्यवस्थापनलाई प्राथमिकता दिएको छ । अध्यक्ष बोहराका अनुसार आधार शिविर क्षेत्रमा करिब ५०० जनालाई राख्न सकिने क्षमताको सर्वेक्षण गरिएको छ । थप ५०० जना सहभागी भए पनि व्यवस्थापन गर्न सकिने गरी अस्थायी टहरा तथा पालको व्यवस्था गर्ने तयारी भइरहेको छ । आधार शिविर क्षेत्रका होटलहरूको क्षमता सर्वेक्षण भइरहेको छ । होमस्टे, सामुदायिक आवास र होटलमा खानपान तथा बसोबासका लागि दररेट निर्धारण गरी सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय आमा समूहलाई मौलिक भेषभूषामा सजिएर पाहुनाको स्वागत गर्न आग्रह गरिएको छ । उत्सवस्थलमा स्थानीय परिकार, हस्तकला तथा कृषि उत्पादनका सामग्रीका प्रदर्शनी र बिक्री कक्षसमेत राखिनेछन् । उत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्षको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । विभिन्न शाखाका प्रमुख कर्मचारीको संयोजकत्वमा विषयगत उपसमिति बनाएर तयारीलाई तीव्र पारिएको छ ।
अपि हिमालको आधार शिविर पुग्न पदयात्रीले करिब दुई दिनको यात्रा गर्नुपर्नेछ। यात्राको पहिलो चरणमा होमस्टेमा बस्न सकिने र अन्तिम गाउँ सितिमा पनि होमस्टेको व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । त्यसभन्दा माथि चिया घर तथा अतिथिगृह उपलब्ध रहेकाले पदयात्रीको बसोबास सहज हुने अपेक्षा गरिएको छ । यात्रा सहजीकरणका लागि मकरीगाड, घुसा र सितिमा सहायता केन्द्र स्थापना गरिएको छ । धौलेओडार र आधार शिविरमा स्वास्थ्यकर्मीसहितका दुई स्वास्थ्य सहायता केन्द्र राखिने अध्यक्ष बोहराले जानकारी दिए । उच्च हिमाली क्षेत्रमा हुन सक्ने लेक लाग्ने समस्या तथा अन्य स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर प्राथमिक उपचारका औषधि, स्वास्थ्य सामग्री र पोर्टेबल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ। बाटोमा पर्ने स्वास्थ्य चौकीबाट पनि आवश्यक सहयोग लिन सकिने गाउँपालिकाको भनाइ छ । गम्भीर स्वास्थ्य समस्या देखिएमा आधार शिविरबाट करिब दुईदेखि तीन घण्टा तलको क्षेत्रमा मोबाइल सञ्जाल उपलब्ध हुने भएकाले त्यहाँबाट सम्पर्क गरी थप उपचारको व्यवस्था मिलाउने तयारी गरिएको छ । गाउँपालिकामा सञ्चालित स्मार्ट हेल्थ कार्यक्रममार्फत काठमाडौँका चिकित्सकसँग भर्चुअल परामर्श लिने व्यवस्था पनि प्रयोग गरिने अध्यक्ष बोहराले बताए । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्न प्रमुख जिल्ला अधिकारीसँग आवश्यक सुरक्षाकर्मी उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
उत्सवको उद्देश्य पर्यटक भित्र्याउनेमा मात्र सीमित नरहेको गाउँपालिकाले जनाएको छ । पर्यटनमार्फत स्थानीय आयआर्जन र दिगो रोजगारी सिर्जना गर्ने, स्थानीय कला, भाषा, संस्कृति तथा साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने तथा कृषि उत्पादन र हस्तकलाको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ । त्यसैगरी जलवायु परिवर्तनले हिमाली वातावरण, पर्यटन र स्थानीय जीविकोपार्जनमा पारेको प्रभावबारे सरोकारवालाको ध्यानाकर्षण गराउने तथा अनुकूलनका उपायबारे सचेतना फैलाउने उद्देश्यले जलवायु संवाद आयोजना गर्न लागिएको हो । गाउँपालिकाले अपिहिमाल पर्यटन उत्सवलाई क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानका रूपमा अघि बढाएको छ। उत्सव सफल बनाउन सञ्चारमाध्यम र पत्रकारलाई व्यापक प्रचारप्रसार तथा सहभागिताका लागि गाउँपालिकाले आग्रह गरेको छ ।



