डडेल्धुरा — महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा विशेष मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरतर्फ अवस्थित उक्त मन्दिरमा बिहानैदेखि अष्टमी मेला भर्न र पूजाअर्चना गर्न दर्शनार्थीको ठूलो घुइँचो लागेको छ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार महाअष्टमीका दिन मन्दिरमा विशेष पूजाआजाका साथै राँगा र बोकाको बलि दिने परम्परा छ। दसैँको मुख्य दिन (विजयादशमी) मा पनि मन्दिरमा भव्य पूजाआजा गरिन्छ। यस मेलामा सुदूरपश्चिमका नौवटै जिल्लाका साथै अन्य विभिन्न क्षेत्रबाट धार्मिक भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन्।

नेपालका सुदूरपश्चिम क्षेत्रमा रहेका नौ भगवतीका प्रमुख मन्दिरहरूमध्ये उग्रतारालाई पनि एक मानिन्छ। धार्मिक किंवदन्ती अनुसार करिब २५ सय वर्षअघि हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँका साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दा शिलामा फाली लागेर रगत बगेको थियो। लगत्तै देवी उत्पन्न भई दर्शन दिएको विश्वास गरिन्छ।
सोही दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको नियमित पूजाअर्चना गरिँदै आइएको छ। अहिले पनि लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डितहरू नै मन्दिरका मुख्य पुजारीका रूपमा रहँदै आएका छन्।
उग्रतारा मन्दिर डाँडामाथि रहेको विशाल फाँटमा अवस्थित छ। डाँडामा भए पनि मन्दिरसम्म पुग्न ओरालो झर्नु नपर्ने अनौठो प्राकृतिक बनोटका कारण पनि यस शक्तिपीठको धार्मिक तथा पर्यटकीय गरिमा बढेको अध्यक्ष साँकीको भनाइ छ।
दसैँको महाअष्टमीबाहेक उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन महापूजा तथा ठूलो मेला (देइजात) लाग्ने गर्दछ। प्राचीनकालमा गर्खा-गर्खाका लडाकुहरूले आ-आफ्नो वीरता देखाउँदा बगेको रगतको खोलालाई स्थानीय रूपमा ‘न्वाखोला’ नामाकरण गरिएको पौराणिक कथन समेत रहेको छ।



