काठमाडौं: चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ वटा नयाँ सिट थपिएका छन्। थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ।

नयाँ सिट थपिएसँगै निजी कलेजहरूको सिट संख्या भने यथावत् राखिएको छ। जेहेन्दार विद्यार्थीले कम शुल्कमा सरकारी शिक्षण संस्थामै चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाऊन् भन्ने उद्देश्यले सबै नयाँ सिट सरकारी संस्थालाई दिइएको जनाइएको छ। यसै शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पढाइ सुरु हुने भएको छ। यसले सुदूरपश्चिमवासीको लामो समयदेखिको चिकित्सा शिक्षा अध्ययनसम्बन्धी सपना पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०–३० सिट थपिएका छन्। यी दुई संस्थामा गरी ६० सिट थपिएसँगै एमबीबीएस अध्ययनका लागि नयाँ अवसर विस्तार भएको छ। यसका अतिरिक्त बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट थप गरिएको छ।

चिकित्सा शिक्षामा नयाँ सिट थपिएसँगै विद्यार्थीलाई स्वदेशमै डाक्टर तथा नर्स बन्ने अवसर विस्तार हुने र आर्थिक रूपमा सहज पहुँच स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय