ललितपुर: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथग्रहण गर्दै पार्टीको नेतृत्व औपचारिक रूपमा सम्हाल्ने भएका छन्। बडादशैंको फूलपातीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज अपराह्न २ बजे शपथग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि मतगणना सम्पन्न भएसँगै कार्यक्रम तय गरिएको हो। समारोहमा सहभागी हुन केन्द्रीय कार्यालयले काठमाडौं उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

नवनिर्वाचित सभापति थापाले आजैबाट पार्टीको नेतृत्व सम्हाल्ने भए पनि केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दशैंपछि गरिने कांग्रेसले जनाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ। नयाँ नेतृत्वको पदबहालीसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र कार्ययोजनाप्रति चासो बढेको छ।



