काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा र इमानदारीलाई पेशागत सफलताको पहिलो मानक बताएका हुन्।


उनले प्रहरी अधिकृतहरूलाई संविधान र प्रचलित कानुनको पालना गर्दै अनुशासन तथा जवाफदेहिता कायम गर्न आग्रह गरे। संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि उनले सचेत गराए।
प्रधानमन्त्री शाहले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी शान्ति सुरक्षा कायम गर्न र भेदभाव नगरी कर्तव्य निर्वाह गर्न उनले प्रहरी निरीक्षकहरूलाई आग्रह गरे।
सरकारले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दीक्षित प्रहरी अधिकृतहरूलाई कार्यसफलताको शुभकामनासमेत दिए।




