काठमाडौं: नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उदय शमशेर राणाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राणाले पार्टीलाई समयानुकूल बनाउने, संगठन सुदृढ गर्ने र देशको समृद्धिका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै उनीहरूको विचार, योगदान र अनुभव पार्टीका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो—प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता,’ राणाले लेखेका छन्।

प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि पार्टी रूपान्तरण र लोकतान्त्रिक भविष्य निर्माणको साझा दायित्वका रूपमा लिएको उल्लेख गर्दै उनले सबैलाई सहकार्यका साथ अघि बढ्न आह्वान गरेका छन्।

राणाले महाधिवेशनपछिको एकता, आपसी सम्मान र साझा प्रतिबद्धतामार्फत कांग्रेसलाई थप सुदृढ बनाउने सन्देश दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय