काठमाडौँ, असोज २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीले विद्यार्थीलाई वर्तमानका लागि मात्र नभई भविष्यका चुनौती र अवसर सामना गर्न सक्ने गरी तयार गर्नुपर्ने बताउनुभएको छ।
पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ को अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताउनुभएको हो।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले भन्नुभयो, “आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ। विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI) र सञ्चारका क्षेत्रमा भइरहेको द्रुत विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिदिएको छ। यस्तो अवस्थामा हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि योग्य बनाउनुपर्छ।”
उहाँले आधुनिक प्रविधिको विकाससँगै आधारभूत मानवीय मूल्य–मान्यतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। “प्रविधि जति शक्तिशाली हुँदै जान्छ, मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलताको आवश्यकता पनि त्यति नै बढ्छ। त्यसैले आधुनिक ज्ञान र सीपका साथै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्नुपर्छ,” उहाँले भन्नुभयो।
विद्यालय ज्ञान, चेतना र राष्ट्रको भविष्य निर्माण गर्ने आधारभूत संस्था भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठामा पाठ्यपुस्तकका साथै अनुशासन, इमानदारिता, देशप्रेम र सामाजिक उत्तरदायित्व जस्ता जीवनोपयोगी मूल्यहरू सिकाइने बताउनुभयो। आजका विद्यार्थी नै भोलिका शिक्षक, चिकित्सक, इन्जिनियर, उद्यमी, राजनीतिज्ञ र जिम्मेवार नागरिक हुने उहाँको भनाइ थियो।
शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शिक्षाले विद्यार्थीमा समस्या समाधान गर्न सक्ने, नयाँ सोच विकास गर्ने, प्रविधिको सही सदुपयोग गर्ने र राष्ट्रप्रति जिम्मेवार बन्ने आधार तयार गर्नुपर्छ। यसका लागि सरकार, नीति निर्माता र सम्पूर्ण शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहकार्य आवश्यक छ।”



