सुनसरी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले अबको राजनीतिमा ठूला र पहुँचवाला भन्दा पनि आम साधारण जनताको पहुँच स्थापित हुनुपर्नेमा जोड दिनुभएको छ। सुनसरीमा आयोजित रास्वपाको स्थानीय तहकेन्द्रित “हामी आउँदैछौँ” अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अन्सारीले उक्त कुरा बताउनुभएको हो।
कार्यक्रममा बोल्दै सांसद अन्सारीले चुनावमा कथित ‘ठूला’ र ‘भारी’ मान्छेहरू आउँदा उनीहरूको बोझ आम जनताको समस्यामाथि थपिने गरेको उल्लेख गर्नुभयो। अब त्यस्तो परिपाटीको अन्त्य हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीलाई भारी मान्छे चाहिएको छैन, हामीलाई मान्छे चाहिएको छ। अहिलेको लागि हामी साधारण मान्छेहरू चुनाव लड्ने समय आएको छ।”

राजनीतिक नेतृत्व र उम्मेदवार चयन प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिँदै अन्सारीले पार्टीमा ‘क्यान्डिडेट क्लब’ गठन गरेर नेतृत्व प्रशिक्षण लिएपछि मात्र अघि बढ्नुपर्ने अवधारणा अघि सार्नुभयो। चुनावमा टिकट वितरण गर्दा वा लड्ने प्रक्रियामा कुनै पनि किसिमको सोर्स-फोर्स वा लटरी प्रथा चल्न नहुने भन्दै उहाँले क्षमता र सही नियत भएका व्यक्तिलाई मात्र प्राथमिकता दिनुपर्ने स्पष्ट पार्नुभयो।
सम्बोधनको क्रममा उहाँले सुनसरीका जनतालाई आगामी चुनावहरूमा सक्षम, योग्य र सही विचार तथा सोच (डीएनए) बोकेको जनप्रतिनिधि छनोट गर्न आग्रह गर्नुभयो। अबका दिनमा निष्ठावान र साधारण जनता नै देशको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने उहाँको भनाइ थियो।



