नवलपरासी। नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा «अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ-२०८३» आयोजना हुने भएको छ। परमश्रद्धेय श्रीमुक्तिनाथबाबाज्यूको पावन सत्संकल्पमा सञ्चालित यो महायज्ञ २०८३ साल मंसीर १ गतेदेखि मंसीर २९ गतेसम्म सञ्चालित हुनेछ। श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्टतम महाविद्यालयमा अभिवृद्धि गर्दै «श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय» स्थापना गर्ने मुख्य लक्ष्यका साथ यो महायज्ञ आयोजना गरिएको हो।

त्यसैगरी, महायज्ञको प्रकल्प अन्तर्गत प्रत्येक श्रद्धालु भक्तजनहरूका लागि ‘मुष्टि अन्नदान’ कार्यक्रम समेत सञ्चालन भइरहेको छ। यस कार्यक्रमअनुसार भक्तजनहरूले प्रतिव्यक्ति एक मुठी चामललाई घरमै ‘श्री राम’ नामबाट अभिमन्त्रित र शुद्ध गरी महायज्ञ स्थलमा ल्याउनुपर्नेछ।
​यसरी सङ्कलन गरिएको अभिमन्त्रित चामललाई महायज्ञमा हवनका लागि चरु निर्माण गर्नका साथै भगवानलाई भोग लगाई प्रसादका रूपमा खीर वितरण गर्न प्रयोग गरिने आयोजकले जनाएको छ। सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आजैदेखि एक मुठी चामल अभिमन्त्रित गरी तयारी अवस्थामा राख्न र यज्ञमा आउँदा साथै लिएर आउन समेत अनुरोध गरिएको छ।

विशेष कार्यक्रमहरू तथा आकर्षण

विशाल धान्याचल र अष्टाचल: महायज्ञमा २५ फिट अग्लो धान्याचल मौलो स्थापना गरिनेछ, जसमा श्रीमहालक्ष्मी, श्रीसम्पल्लक्ष्मी, श्रीभोगलक्ष्मी, श्रीज्ञानलक्ष्मी र श्रीमोक्षलक्ष्मीका मूर्तिहरू कुँदिएका हुनेछन्। यसैगरी ८ वटा मौलो स्थापना गरी अष्टाचल पनि निर्माण गरिनेछ।

वैदिक पाठपरायण: ४ वेद, उपनिषद, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध, स्तोत्रादि सत्शास्त्रहरूको पाठपरायण एवं हवन।

धार्मिक तथा सांस्कृतिक कार्यक्रम: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान तथा विदुषीहरूबाट शास्त्रीय प्रवचन, भजन-सङ्कीर्तन, देवलीला, झाँकी, चेतनामूलक नाटक प्रदर्शन, ५ करोड दीप प्रज्वलन र वैदिक सनातन धर्म महासम्मेलन।

नित्य पूजा: प्रतिदिन १०८ कन्यापूजन, बटुकपूजन, गौपूजन तथा सहस्रावृत्ति पाठपरायण।

दैनिक कार्यक्रम तालिका

  • बिहान ५:०० देखि ७:०० बजेसम्म: योग तथा ध्यान शिविर

  • बिहान ७:०० देखि ८:०० बजेसम्म: मण्डप पूजन, भगवदाराधाना

  • बिहान ८:०० देखि ९:०० बजेसम्म: सामूहिक गो-पूजन एवं गण्डकी पूजन

  • बिहान ८:०० देखि १२:०० बजेसम्म: वेद, पुराण, इतिहास आदि सद्ग्रन्थहरूको पाठपरायण एवं महालक्ष्मी हवन

  • मध्याह्न १२:०० देखि ४:०० बजेसम्म: विभिन्न धर्म गुरुहरूबाट सङ्गीतमय कथा प्रवचन

  • दिवा ४:०० देखि ५:०० बजेसम्म: नित्य पूर्णाहुति आरती, पुष्पाञ्जलि, तीर्थ-प्रसाद वितरण

  • रात्री ७:०० देखि ९:३० सम्म: भजन-सन्ध्या, कथा-प्रवचन एवं चेतना मूलक नाटक प्रदर्शन

महायज्ञमा उपस्थित हुने हजारौँ भक्तजनहरूको लागि प्रसाद (भोजन) व्यवस्थापनको साथै भण्डार, धान्याचल र विद्यालय स्थापनाार्थ सहयोग गर्न समस्त वैदिक सनातन धर्मानुरागी सज्जन महानुभावहरूमा सादर निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय