काठमाडौं: नेपाली कांग्रेसको उपसभापतिमा विनोद चौधरीको उम्मेदवारीले कांग्रेसभित्र उत्साह बढाएको छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधि मात्रै नभएर, कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरुले चौधरीको उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरुले देशको प्रतिष्ठित उद्योगपति एवं नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने व्यक्ति भएको भन्दै चौधरीको कांग्रेस उपसभापतिमा उम्मेदवारी पार्टीकै लागि गौरवको विषय भएको बताएका छन् ।


देशले सम्मान गर्नुपर्ने व्यक्ति कांग्रेस पार्टीको नेतृत्वमा रहेर काम गर्ने इच्छा राख्नु पार्टीका लागि ठूलो सम्पत्ति भएको महाधिवेशन प्रतिनिधिहरुको भनाई छ । कांग्रेस केन्द्रीय सदस्य भइसकेका चौधरीले आफूले व्यावसायिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीमार्फत मुलुक निर्माणमा योगदान दिन उपसभापतिमा उम्मेदवारी दिएको बताएका छन् । चौधरीलाई कांग्रेस उपसभापतिमा बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।




