काठमाडौंमा आजदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट ठूलो संख्यामा प्रतिनिधि काठमाडौं आउने भएपछि ट्राफिक प्रहरीसँगको समन्वयमा छुट्टाछुट्टै पार्किङ क्षेत्र तोकिएको हो।

महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी भाग र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सवारी पार्किङको व्यवस्था गरिएको छ।
यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि थप सवारी पार्किङको व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको समितिले जनाएको छ।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभर तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ।



