काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भोटेकोशी बाढी तथा उद्धार प्रयासबारे टेलिफोन संवाद भएको छ ।
रास्वपा प्रवक्ता जगदिश खरेलका अनुसार वार्तामा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को अवस्थामा नेपाल र नेपाली जनताप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताउनुभएको थियो ।

लामिछानेले बाढीपछि सरकारले खोजी, उद्धार र राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी गराउँदै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षालाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो ।
वार्ताका क्रममा लामिछानेले विपद्को समयमा अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
जवाफमा विदेशमन्त्री रुबियोले आवश्यकता परेको अवस्थामा नेपाललाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता जनाउनुभएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।



