नुवाकोट — रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा नुवाकोटको बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरभित्र अचेत अवस्थामा भेटिएकी उनलाई सशस्त्र प्रहरी बलको टोलीले आज फेला पारेको हो।
सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार कार्य सम्पन्न गरेको हो। नुवाकोट विदुर नगरपालिका–१० निवासी श्रेष्ठलाई भेटिएलगत्तै उद्धार गरी तत्काल उपचारका लागि लैजाने प्रक्रिया अघि बढाइएको छ।

अचेत अवस्थामा रहेकी श्रेष्ठलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूलीस्थित मैथिली ब्यारेक ल्याउने काम भइरहेको छ। ब्यारेकमा प्रारम्भिक उपचार गरेपछि थप तथा विशिष्टीकृत उपचारका लागि उनलाई आजै काठमाडौँ ल्याइने तयारी छ।
बाढी आएको लामो समय बितिसक्दा पनि जीवितै भेटिनुलाई उद्धारकर्ताहरूले निकै सकारात्मक रूपमा लिएका छन्। उक्त क्षेत्रमा अन्य बेपत्ताहरूको खोजी तथा राहत कार्य अझै तीव्र पारिएको छ।



